भिरकोट स्वास्थ्य चौकीमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण

बलराम शिवाकोटी
२९ चैत, दोलखा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को सङ्क्रमणको अत्याधिक जोखिम अझै बढ्दै गएको छ। तर स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को अभावमा जोखिम मोलेरै स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन् ।यस्तो विषम परिस्थितिमा दोलखा जिल्लाको एउटा वडाको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरिएको छ ।

जिल्लाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष महेश्वर काफ्लेको पहलमा तथा गोबिन्द नेपालीको सहयोगमा वडा नम्वर १, भिरकोट स्वास्थ्य चौकीमा ३ थान र सामुदायिक स्वास्थ्य इकाई भिरकोटमा १ थान पीपीई सेट अध्यक्ष काफ्लेले आज वितरण गरेका छन् ।स्वास्थ्यकर्मीहरुलाई पीपीई हस्तान्तरण गर्दै वडा अध्यक्ष काफ्लेले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य जोखिमलाई ध्यान दिँदै उनीहरुले आफूलाई सुरक्षित महसुस नागरिकको स्वास्थ्य सेवामा लाग्न सकुन भन्ने उद्देश्यले आफूले पीपीई सेट लगायत अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गरेको बताए ।

गाँउपालिकाका बाँकी वडाका स्वास्थ्य चौकीमा भने २/२ सेटका दरले भोलि वितरण गरिने पनि काफ्लेले बताए । कोरोना भाइरस सङ्क्रमणको जोखिमको समयमा वडामा पीपीई अभाव भैरहेको अवस्थामा अत्यावश्यक पीपीई सहयोग गरेकोमा सहयोगी गोबिन्द नेपालीलाई धन्यवाद दिँदै थप आवश्यक सहयोगको लागि आग्रह गरे ।

स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री नभएका कारण आफ्नै स्वास्थ्यमा जोखिम भएको भन्दै स्वास्थ्यकर्मीहरुमा मनोवैज्ञानिक त्रासको सिर्जना भएको थियो ।  कोरोना भाइरस (कोभिड -१९) को सङ्क्रमण रोक्न सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि वडाअध्यक्ष काफ्लेले १ नम्वर वडा बासी, विपन्न, अपाङ्ग तथा गरीब परिवारलाई निरन्तर हात धुने सेनिटाइजर, साबुन, मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् भने कोरोना भाइरस ( कोभिड-१९) को सङ्क्रमणबाट बच्न र बचाउन निरन्तर जनचेतनामूलक कार्यहरु समेत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close