
राजन बस्नेत दोलखा २४ भाद्र । चरिकोट स्थित दुई छुट्टै कार्यक्रमबाट ७५ प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी र भिमेश्वर नगरपालिकाको सहयोगमा कर्मचारी मिलन केन्द्र दोलखाले सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा उपस्थित भएका मध्ये ५८ जनाले रक्तदान गरेको कर्मचारी मिलन केन्द्र दोलखाका अध्यक्ष एवं कोलेनिका दोलखाका प्रमुख कोष नियन्त्रक भिष्म प्रसाद न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेलेनै रक्तदान गरि कार्यक्रमको सुरुवात गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाकोे संयोजनमा भएको रक्तदान कार्यक्रममा नेपाली सेनाको तारा दल गणले भौतिक व्यवस्थापन गरेको थियो । प्राविधिक सहयोग भने दोलखा सामुदायिक अस्पताल र च्छोरोल्पा अस्पतालले गरेको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाकी मन्त्री सिर्जना सुबेदीले जानकारी दिइन । शनिबार नै दोलखाको सुन्द्रावति स्थित दिपज्योती समाजसुधार संस्था र स्थानीय रेडक्रसको आयोजनामा अर्को रक्तदान कार्याक्रम समेत गरिएको छ । रेडक्रस जिल्ला शाखाकै संयोजनमा भएको रक्तदानमा १७ प्रिन्ट रगत संकलन भएको छ । एकै दिन दोलखामा भएका छुट्टाछुट्टै रक्तदान कार्यक्रममा ७५ प्रिन्ट रगत संकलन भएको रेडक्रसले जनाएको छ ।
प्रत्येक महिना २ पटक रक्तदान कार्यक्रम
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा दोलखामा प्रत्येक महिना कम्तिमा दुई पटक रक्तदान कार्यक्रमहरु आयोजना हुन थालेका छन् । विभिन्न सामाजिक संस्थाहरु , सरकारी कार्यालयहरु लगाएतका निकायहरुसँग समन्वय गरि २ वर्षदेखि रेडक्रसले कार्यतालिका नै बनाएर रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ । रेडक्रसका दोलखा सभापति गोकर्ण प्रसाद पोख्रेलले पहाडी जिल्ला भएको र जुनसुकै बेला पनि रगत आबश्यक पर्ने भएकाले विभिन्न निकायहरुसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिदै आएको प्रतिक्रिया दिए । त्यसरी संकलन गरिएको रगत १५ प्रिन्टसम्म चरिकोटस्थित ब्लड बैंकमा राखिने र बाँकी रहेको रगत भक्तपुरस्थित रेडक्रसले सञ्चालन गरेको ब्लड बैंकमा पठाइने मन्त्री सुबेदीले जानकारी दिइन । उनका अनुसार दोलखामा उपचार सम्भव नभएका र राजधानी काठ्माडौंमा उपचार गर्न पुगेका बिरामीहरुलाई दोलखा रेडक्रसको सिफारिसमा ब्लड बैंक भक्तपुरबाट रगत उपलब्ध गराउने सम्झौता अनुसार काम भैरहेको छ ।
जिरीमा छुट्टै ब्लड बैंक स्थापना गर्ने तयारी
भौगोलिक बिकटताका कारण दोलखाको जिरीमा रगत अभाबका कारण बिरामीहरुले ज्यान गुमाउनु परेको भन्दै जिरीमा रहेको जिल्ला अस्पताललाई लीषत गर्दै रेडक्रसले जिरीमा ब्लड बैंक स्थापना गर्ने तयारी गरेको छ । जिरी नगरपालिका र त्याँका अन्य केही सामाजिक संस्थाहरुसँगको सहकार्यमा रेडक्रसले ब्लड बैंक स्थापना गर्न लागेको शाखाकी मन्त्री सुबेदीले जनाएकी छन् । सकेसम्म यहि वर्ष भित्रै ब्लड बैंक स्थापना गर्न शाखा क्रियाशिल रहेको उनको प्रतिक्रिया छ । रेडक्रसले आयोजना गरेको कार्यक्रम मार्फत रक्तदान गर्ने रक्तदाताहरुलाई रगत आबश्यक परे रेडक्रसले पहिलो प्राथमिकतामा राखेर रगत वितरण गर्ने प्रकृया रहेको मन्त्री सुबेदीले जानकारी दिएकी छन् ।