दोलखामा ३ वर्षमा १ सय ५० जनाले गरे आत्महत्या (तथ्याङ्कसहित)

बलराम शिवाकोटी, दोलखा २४ भाद्र । विश्वमा हरेक वर्ष झन्डै ८ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको बेला नेपालमा गत आर्थिक वर्ष २०७५÷७६ मा करिब ६ हजार जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ । त्यसैगरी दोलखामा यो वर्ष ४४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७४÷७५मा ६६ जनाले आत्महत्या गरेका थिए भने २०७३÷७४ मा ४० जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्ने व्यक्तिहरुमध्ये महिला भन्दा पुरुष धेरै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आ.व २०७३÷७४ मा आत्महत्या गर्ने पुरुषको संख्या २५ थियो भने महिलाको संख्या १५ रहेको थियो । आ.व. २०७४÷७५ आत्महत्या गर्ने पुरुषको संख्या ४६ रहेको थियो भने महिलाको संख्या २० रहेको थियो । त्यसैगरी २०७५÷७६ मा आत्महत्या गर्ने पुरुषको संख्या २७ र महिलाको संख्या १७ रहेको छ । सबैभन्दा बढी आत्महत्या गर्ने उमेर समुह ३० वर्ष देखि ६० वर्ष भित्रको रहेको छ । अधिकांश व्यक्तिहरु झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्ने गरेको पाइएको छ ।

दोलखामा आत्महत्याको प्रमुख कारण गरिबी, रोग, आर्थिक, शैक्षिक, पारिवारिक र प्रेम सम्बन्धजस्ता कारण रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । अप्राकृतिक मृत्युको रुपमा लिइने आत्महत्याको यो तथ्याङ्क हेर्दा निकै चिन्ताजनक अवस्था रहेको मान्न सकिन्छ । व्यक्तिका आवश्यकता, ईच्छा र चाहना पूरा नहुँदा तनाव र आवेगमा आएर आत्महत्याको बाटो रोज्न पुग्छन् ।

धेरैजसो आत्महत्या गर्ने व्यक्तिमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहने गरेको मनोचिकित्सकहरुको भनाई रहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्ने हो भने नेपाल आत्महत्या गर्ने देशको ८१औँ श्रेणीमा रहेको छ । विश्वमा हरेक ४ सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । सामाजिक, आर्थिक, पारिवारिक समस्या परेकाहरुमा आत्महत्याको उच्च जोखिम रहेको मनोचिकित्सकहरु बताउँछन् । व्यक्तिको परिवार र साथीभाई मात्र पनि केहि सचेत हुने हो भने केहि हदसम्म आत्महत्या घटाउन सकिने मनेविद्हरु बताउँछन् ।

हेर्नुहोस् दोलखाको ३ वर्षको आत्महत्याको तथ्याङ्क :

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close